अग्निपरीक्षा (कविता)

अग्निपरीक्षा

आँधीहुरीमा पनि नखसेका पातहरू
खस्न सक्छन् मन्द हावाले ।
तिम्रा आक्षेपहरूले जलेर पातहरू
वीभत्स खरानी भएका छन् ।
खरानी कहाँ फेरी जल्थ्यो अग्निपरीक्षामा ?

सहस्र स्त्रीहरूको हार हो रामायण !
हाम्रो हारमा कसरी विजयी भए सत्य र धर्म ?
ओ! सत्ताप्रेमी शासक,
कथित सम्मानका लागि माग्छौ मेरो स्वाभिमान भने,
कसरी नगर्नु मैले शङ्का तिम्रो मर्यादामा,
भन दिन सक्छौ अग्निपरीक्षा ?

नयाँ अवतारमा जन्मिएर लेखिसकेँ सितायण,
जसका हरेक अध्यायमा दिएकी छुः—
हरदिन एक अग्निपरीक्षा ।

आफूलाई कुनै रामको योग्य प्रमाणित गर्न होइन ।
बस्! स्वाभिमान र स्वतन्त्रताका लागि !

इतिहासले बुझ्न जरूरी छ;
उड्नकै लागि जन्मिनेहरूलाई
खराउ एक भार मात्रै हो !

म पवित्रताको अर्थ सिकाउनेछु
तिमी र यो समाजलाई, जसले कोरेर लक्ष्मणरेखा
बनाएका छन् घरहरू कारावास !
जहाँ अग्निपरीक्षा त दिइरहेछन् स्त्रीका भ्रुणहरू पनि ।

यान्त्रणाहरूको आगोमा रापिएर
हतियार बनेको छ मेरो शरीर,
छातीभित्रको ज्वालाले
म जलाउनेछु तिम्रो साम्राज्य,

जलेको साम्राज्यको राख र
ब्रह्माण्डका सम्पूर्ण रहस्य अटाएर
भ्रूणभित्र जन्माउनेछु एक सुनौलो युग,
पिलाएर सभ्यता हुर्काउने छु लवकुश ।

त्यहाँ तिम्रो सङ्कीर्ण,
खोक्रा आदर्शहरूको शेषसम्म रहनेछैन ।
प्रेमको अर्थ बस् प्रेम हुनेछ,
बन्दी हुनु वा कलङ्कित हुनु हुनेछैन ।

अग्निपरीक्षामा होमिदा-होमिदै
आगोले पनि थाहा पाएको हुनुपर्छ
मेरो शरीरको गन्धः— एक-डढेको-सभ्यता !

जिन्दगीले आगो निलिसकेपछि
आगोले सक्ने छैन जिन्दगी निल्न !
[ त्यसैकारण आगोले सक्दैन खरानी जलाउन ]
म जुरुक्क उठ्नेछु खरानीबाट,
र उड्नेछु ठ्याकै फ़ीनिक्स पंक्षी जसरी ।


  प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०१:५७